शेखर समूहको प्रतिनिधित्वबिना कोशी सरकारमा कांग्रेस सहभागी

शेखर समूहको प्रतिनिधित्वबिना कोशी सरकारमा कांग्रेस सहभागी


विराटनगर – नेपाली कांग्रेस इतर समूहको प्रतिनिधित्वबिना कोशी प्रदेश सरकारमा सहभागी भएको छ । शुक्रबार कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्दा शेखर समूहका कुनै पनि नेता मन्त्री र राज्यमन्त्रीमा परेका छैनन् ।

प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । नेता कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।

त्यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । यी दुबै जना संस्थापन पक्षका हुन् । मण्डल संस्थापन पक्षीय नेता ज्ञानेन्द्र कार्कीका विश्वासपात्र हुन् ।

सिटौला पक्षका भूमि राजवंशीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।

गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी नभएकामा आज शेखर समूहविना सरकारमा सहभागी भएको हो ।

कोशीमा शेखर समूहले २ मन्त्रालय मागिरहेको छ भने संस्थापनले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताइरहेको छ । कांग्रेसको भागमा परेको अझै एक मन्त्री र एक राज्यमन्त्री खाली छ ।