काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको टिप्पणी गरेको छ ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै कसूरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुने स्मरण गराएका छन् ।
‘प्रचलित कानून बमोजिम कसूर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरूमाथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विधिको शासन कायम गर्न, न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृंखल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग पुर्याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौं ।’
राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई बाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्याउने गतिविधिप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘कानून सबैका लागि समान हुन्छ र हुनुपर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो ।’ संसदीय छानबिन समितिको प्रतिवेदनले सिफारिस गरेअनुसार रास्वपा सभापति लामिछानेमाथि सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको कांग्रेसले जनाएको छ ।
यस्तो छ विज्ञप्ति –
प्रतिक्रिया