काठमाण्डु – नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले ७ बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको आरोप लगाए ।
नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकोमा आपत्ति जनाए ।
उनले संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने बताए । कोइरालाले ७ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनुपर्ने बेला आएको बताए ।
त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी राजमार्गको बीचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोइरालाले बीपी कोइरालाको विचारलाई अनुशरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया