काठमाण्डु – नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिए ।
बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको छ ।
संसद्मा विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसद्का अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको छ ।
समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रमुख सत्तारूढ २ दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले संघीय संसद्मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया