कांग्रेसको निर्देशन : संसद्मा अध्यादेशको विरोध नगर्नू

कांग्रेसको निर्देशन : संसद्मा अध्यादेशको विरोध नगर्नू


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशमा आफ्ना फरक मत वा असहमति भए पनि संसद्मा त्यसलाई व्यक्त नगर्न निर्देशन दिएको छ ।

शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले अध्यादेशमा विमति राख्न रोक लगाएको छ ।

संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसद्मा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले बताए । ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरूका बीचमा पनि सघनरूपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ ।’

बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद् र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएका घिमिरेले जानकारी दिए ।

उनले भने, ‘केही कुरा छन् भने यहीभित्र कुरा राखौं, नेपाली कांग्रेस एक भएर संसद् अधिवेशनमा प्रस्तुत हुने र बाहिर पनि एक भएर प्रस्तुत हुने भन्ने नै सभापतिज्यूको निर्देशन हो ।’

आर्थिक क्षेत्रमा देखिने गरी सुधारका काम गर्न केही विधेयकलाई संशोधन गर्नैपर्ने बाध्यता भएको हुँदा अध्यादेशका रूपमा ल्याइएको देउवाको भनाइ रहेको बताइएको छ ।