हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ : कांग्रेस

हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने ठहर गरेको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले पूर्वराजाकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको निष्कर्ष निकालेको छ ।

राजावादीहरूको पूर्वयोजनाअनुरूप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे ब्रिफिङ गरेका छन् ।

गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताएका छन् ।

प्रवक्ता महतले भने, ‘राजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्‍यो । निजी घर, व्यावसायिक घर, मिडिया हाउसमा तोडफोड गरियो । त्यसको कांग्रेसले भर्त्सना गरेको छ । यो निरंकुश शासन लाद्ने मनसायका साथ घटना घटाइएको छ । सिधै यहाँ–यहाँ आक्रमण गर्ने योजना भएको छ । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ ।’

पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा अराजकता फेलाउनेहरू भेला भएको कांग्रेसको आरोप छ । तोडफोड र आगजनीमा संलग्नलाई कानूनी कारबाही गर्न कांग्रेसले माग गरेको छ ।