आज तीन ठूला दलको केन्द्रीय समिति बैठक बस्दै

आज तीन ठूला दलको केन्द्रीय समिति बैठक बस्दै


काठमाण्डु – आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको यो कदमविरुद्ध छलफल गर्न मुलुकका तीन ठूला दलको केन्द्रीय समिति बैठक आज मंगलबार बस्न लागेको हो ।

नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै आइरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत दुई दलसँग संयुक्त बैठकसमेत गरेको थियो । यी दलका नेताहरूले आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका छन् ।

कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ भने जनता समाजवादीले बुधबार देशैभर प्रदर्शन गर्न लागेको छ ।