प्रदेश मन्त्रीमा भनेजति भाग नपाएपछि कांग्रेसको शेखर समूह देउवासँग असन्तुष्ट

प्रदेश मन्त्रीमा भनेजति भाग नपाएपछि कांग्रेसको शेखर समूह देउवासँग असन्तुष्ट

फाइल फोटो

काठमाण्डु – प्रदेश सरकारमा भाग नपाएपछि नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह संस्थापनसँग असन्तुष्ट बनेको छ । संघमा नेपाली कांग्रेस–नेकपा एमालेसहितका दलको गठबन्धन सरकार बनेपछि प्रदेशहरूमा पनि त्यही अनुरुपका गठबन्धन सरकार बनिरहेका छन् ।

गठबन्धन सरकार बन्दा आफूहरूलाई कुनै पनि प्रदेशमा मुख्यमन्त्री र हैसियत अनुरुपका मन्त्रीहरू नदिएको भन्दै डा. कोइराला समूह देउवासँग असन्तुष्ट बनेको हो । सो समूहले समूहको बैठक बसी प्रदेशमा आफूहरूलाई चाहिने मन्त्रीको भाग जानकारी गराएर त्यो अनुरुप नपाएपछि असन्तुष्ट बनेको हो ।

मंगलबार कोइराला समूहको कुन प्रदेशमा कति मन्त्री भागबण्डामा माग्ने भनेर बैठक बसेको थियो । डा. कोइराला उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित प्रदेश सभापतिहरु समेत सम्मिलित कोइराला समूहको बैठकले पार्टीबाट मन्त्री सिफारिस हुँदा आफ्नो समूहलाई कोशीमा २, बाग्मतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ मन्त्री दिनुपर्ने दाबी गरेको थियो ।

त्यो दाबी नेता डा. कोइरालाले बैठकलगत्तै सभापति शेरबहादुर देउवालाई फोनमार्फत् जानकारी गराएका थिए । तर, सभापति देउवाले कोइराला समूहको माग बागमती र लुम्बिनीमा मन्त्री बनाउँदा कार्यान्वयन गरेनन् । आफूहरूको माग देउवाले पूरा नगरेपछि कोइराला पक्षका नेताहरुले एकलौटी र निरंकुश शैलीमा मन्त्री छनोट गरेको भन्दै विरोध जनाइरहेका छन् ।

कांग्रेसमा सभापति देउवाले केन्द्रबाटै प्रदेशमा मन्त्री छनोटदेखि मन्त्रालयको भागबण्डाको निर्णय गरिरहेका छन् । संघीय सरकारमा १० मन्त्री सिफारिस गर्दा देउवाले कोइराला समूहलाई चार मन्त्रालय दिएकाले प्रदेशमा पनि त्यहीअनुसार भागबन्डा गरिनुपर्ने माग सो समूहले गरिरहेको थियो ।

बागमती र लुम्बिनीमा मन्त्रिपरिषद् गठनमा देउवाले कोइरालासँग परामर्श नगरेको र आफूहरूले राखेको माग अनुरुप भागबण्डा पनि नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

लुम्बिनीमा गठबन्धन गर्दा पाँच मन्त्रालय पाएको कांग्रेसले बुधबार ४ जना मन्त्री पठाउँदा संस्थापनबाट ३ र इतर समूहबाट एक जनामात्रै मन्त्री भएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, र बाँकेका बादशाह कुर्मी संस्थापनबाट र दाङका प्रचण्डविक्रम न्यौपाने इतर समूहबाट मन्त्रीको शपथ लिएका छन् ।

यता बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ६ मन्त्री भागबण्डामा पाएको छ । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएका छन् । तीनै जना संस्थापनका मन्त्री भएका छन् ।