काठमाण्डु – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दल पदाधिकारीविहीन भएको छ । प्रमुख सचेतक जन्मजय तिमिल्सिना र सचेतक निमा गिरीले पदबाट राजीनामा दिएपछि दल पदाधिकारी विहीन भएको हो ।
अहिले लुम्बिनी संसदीय दलमा दलका नेता डिल्लीबहादुर चौधरी मात्रै छन् । मन्त्री नपाएपछि प्रमुख सचेतक तिमिल्सिना र सचेतक गिरीले राजीनामा दिएपछि दलमा चौधरीमात्रै पदाधिकाी बचेका हुन् ।
प्रमुख सचेतक तिमिल्सिनाले २१ साउनमा र सचेतक गिरीले नेता चौधरीसमक्ष गत सोमबार राजीनामा दिएका हुन् ।
लुम्बिनी सरकारमा सत्तामा रहेको कांग्रेसले नेकपा एमालेसँगको भागबण्डामा ५ मन्त्रालय पाएको थियो । मन्त्री पठाउँदा प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा प्रदेश सरकारमा जाने भनिएको थियो । तर, मन्त्रीको शपथका बेलामा दलका नेता चौधरीले तिमिल्सिनाको नाम काटेपछि रिसाएर प्रमुख सचेतकबाट पनि राजीनामा दिएका निकटस्थ स्रोतले जानकारी दियो ।
त्यसबेला कांग्रेसले गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाएको थियो । कांग्रेसको भागमा परेको आन्तरिक मामिला मन्त्रालयमा भने कसैलाई मन्त्री नबनाएर खाली राखिएको थियो ।
अहिले फेरि विवाद चर्किदै गएपछि कांग्रेसको नेतृत्व गरेर सरकारमा गएका कुर्मीले २६ मदौमा मन्त्रीबाट राजीनामा दिएका छन् । अब कांग्रेसको भागमा परेका दुई मन्त्रालय खाली छन् । खाली दुई मन्त्रालयमा पर्न तिमिल्सिना र गिरी शक्तिकेन्द्र धाइरहेको स्रोत बताउँछ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले खाली मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेपछि कांग्रेसबाट मन्त्रीमा पर्न प्रदेश सांसदहरूको दौडधुप चलेको छ ।
प्रतिक्रिया