काठमाडौ– प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई सरकारले केन्द्र मातहतमा नराख्ने निर्णयको विरोध गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठक सभामुख कृष्णबहादुर महराले सुरू गर्नासाथ विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाए। त्यसपछि सभामुखले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्न समय दिए।
विशेष समय लिएर बोल्दै गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओली हिजो स्वीट्जरल्याण्ड प्रस्थान गर्नुअघि बिहीबार बसेको पुननिर्माण प्राधिकरणको बैठकमा आफ्नो दलको तर्फबाट कुरा राखेको स्मरण गराए।स्वास्थ्य मन्त्रालयले पुस १९ गते लगेको प्रस्तावमा ११ वटा अस्पताल र उपचार केन्द्र विकास समिति मार्फत केन्द्र सरकार मातहतमा रहने गरी प्रस्ताव गरिएकोमा १० र ११ नम्बर प्रस्तावमा केहि नभएको बताए।
गच्छदारले सरकारले गठन आदेशमार्फत निर्णय नसच्चाएसम्म बैठक चल्न नदिने घोषणा गरेका थिए । लगत्तै काग्रेस सांसदहरु आसनबाट उठेका थिए । सभामुखले बस्न आग्रह गर्दापनि काँग्रेस सांसद आसन ग्रहण नगरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।
त्यसअघि बैठकमा बोल्दै काँग्रेस सांसद विजयकुमार गच्छदारले एउटा प्रधानमन्त्रीको कार्यकालमा निर्णय गर्ने र अर्को प्रधानमन्त्री भएपछि उल्ट्याउने प्रकृया गलत भएको भन्दै ती अस्पतालहरु संघीय सरकार मातहत राख्न माग गरे । उनले वर्तमान सरकारले ती अस्पतालहरु प्रदेश मातहतमा राखेर सञ्चालन हुन नसक्ने अवस्थामा पुर्याएको भन्दै काँग्रेसमाथि सरकारले पूर्वाग्रह राखेर यस्तो निर्णय गरेको बताए ।
उनले लोकतन्त्र र गणतन्त्रमाथि नै प्रहार गरिएको भन्दै ११ मध्ये नौ वटा अस्पताल केन्द्र सरकारले चलाउने तर दुईवटालाई प्रदेशमा राख्नुले लोकतन्त्रप्रति योगदान दिने गिरिजाप्रसाद र सुशील कोइरालाको नै अपमान गरेको आरोप लगाए ।
उनले हालको व्यवस्था आउन र प्रधानमन्त्री हुन गिरिजाप्रसाद र सुशील कोइरालाले उच्च योगदान नदिएको भए अहिले कोही पनि सांसद, मन्त्री र प्रधानमन्त्री हुन नसक्ने बताए ।
प्रतिक्रिया