काठमाण्डु–नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्ने भएका छन् । आज ललितपुरमा बसेको कांग्रेस र एमालेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले सो निर्णय गरेको हो ।
दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्ने गरिने छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र बागमती प्रदेश उपसभापति चन्द्र महर्जन सहभागी थिए भने नेकपा एमालेको तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल सहभागी थिए ।
बैठकले संयन्त्रको नेतृत्व एक–एक महिना आलोपालो गर्ने निर्णयसमेत गरेको सचिव राजु नेपालले जानकारी दिए । उनका अनुसार २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने छ ।
संयन्त्रको सचिवालयमा कांग्रेस र एमालेका तर्फबाट एक–एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ ।
संयन्त्रको बैठक महिनामा कम्तिमा एकपटक अनिवार्य बस्ने छ । आगामी बैठक मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बस्ने छ ।
प्रतिक्रिया