ठेकेदार मेयर भएपछि हुलाकी राजमार्ग निर्माण १६ महिनोदखी ठप्प, गृहमन्त्री थापाले गर्लान कार्वाही ?

ठेकेदार मेयर भएपछि हुलाकी राजमार्ग निर्माण १६ महिनोदखी ठप्प, गृहमन्त्री थापाले गर्लान कार्वाही ?


कंचनपुर– पुर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा चरम ढिलासुस्ती भएको छ । कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेल्डाँडी दैजी हुँदै महेन्द्रनगर जोड्ने ६२ किलोमिटर हुलाकी सडकखण्ड निर्माणमा ढिलासुस्ती भएको हो ।

बर्षातको पुर्व सन्ध्यामा पनि निर्माण कम्पनीले दैजीदेखि बेल्डाँडीसम्मको सडकखण्ड निर्माणमा वेवास्ता गरेको छ । स्थानीय सरकार प्रमुख समेत रहेका ठेकेदार भीम साउदको कम्पनीले उक्त सडक निर्माणको जिम्मा पाएको थियो । बाबाहंस र शर्मा राजेन्द्रजेभी निर्माण कम्पनीले ६२ किलोमिटर हुलाकी सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा निर्माणको जिम्मा पाएका थिए ।

तर निर्माणको जिम्मा पाएको १६ महिना वितिसक्दा पनि सडकले गति लिएको छैन् । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने सम्झौतामा उल्लेख भएपनि निर्माणमा उक्त कम्पनीले कुनै चासो देखाएको छैन् । जनप्रतिनिधी आफै ठेकेदार भएको कम्पनीले जनताको काम छिटो छरितो गर्नुपर्ने भएपनि उनको कम्पनीले सडक निर्माणमा ढिलासुस्ती गरेको स्थानीयको गुनासो छ ।

कंचनपुरको दक्षिणी क्षेत्रका स्थानीयले जनप्रनिधिले निर्माण गर्ने जिम्मा पाएको सडक नै निर्माणमा चरम लार्पबाही भएको भन्दै बिरोध गरेका छन् । दक्षिणी क्षेत्रका स्थानीय डम्मर शाहले निर्माण कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरमा हुलाकी सडक निर्माणमा ढिलाई भएको बताए । ‘सडक निर्माणमा ठेकेदारबाट सरासर गलत भएको छ, ‘उनले भने, ‘सरकारले दिएको जिम्मेबारी पुरा नगर्ने आलटाल गर्ने ठेकेदारले सडक निर्माणमा चासो दिएन् ।’

बेल्डाँडीका स्थानीय हरिचन्द्र रानाले दक्षिणी क्षेत्रको विकासमा कुनैपनि निकाय जिम्मेबार नबनेका कारण ढिलाई रहेको बताए । ‘सरकारलाई वास्ता छैन्, ‘उनले भने, ‘ठेकेदारलाई कामको बोध छैन् ।’ बेल्डाँडीका स्थानीय युवा गणेश विष्टले सरकारको लार्पबाही र वेवास्ताका कारण हुलाकी सडक निर्माणमा ढिलाई भएको बताए । ‘सरकारले नै यो सडक निर्माण गर्न चाहेको छैन्, ‘उनले भने, ‘सडक निर्माणमा सरकारी कार्यालय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले किन अबरोध ग¥यो ।’ रोकेको काम शुरुगरेपछि रोडको पुर्वतिर कोर्ने काम मात्रै भएको उनको टिप्पणी छ ।

निर्माण कम्पनी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जवीच सडक छेउछाउका रुखबिरुवा काट्ने विषयमा विगतदेखि विवाद थियो । तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सडक छेउमा पर्ने ठुला रुख नभएको जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेले निर्माण कम्पनीलाई झाडी सफाई गर्ने अनुमती दिएको बताए । ‘निकुञ्जले सडक निर्माणमा कुनै अवरोध गरेको छैन, ‘उनले भने, ‘काम नगर्ने मन भएपछि ठेकेदार कम्पनीले हामीलाई दोष लगाउने काम गरेको छ ।’

निर्माणको जिम्मा पाएका भीम साउदले राष्ट्रिय निकुञ्जले नहरको पुर्वतिर झाँडी सफाई गर्ने मात्रै अनुमती दिएको बताए । ‘हामीलाई रुख काट्ने अनुमती दिएको छैन, ‘उनले भने, ‘झाडी मात्रै सफाई गरेका हौँ ।’ बर्षातमा खोला नाला बन्दहुने भएकाले ग्राभिल स्टक गरिरहेको बताउदै उनले बर्षात अगावै दैजी बेल्डाँडी सडकमा ग्राभिल हालिने बताए ।

स्थानीयले हुलाकी राजमार्ग आयोजना ठेकेदारको लार्पबाही र ढिलासुुस्तीका कारण सडक निर्माणले कछुवा गति लिएकाले फेरी पनि आउँदो बर्खामा सास्ती हुने चिन्ता व्यक्त गरेका छन् ।

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका हुलाकी राजमार्ग बनेपछि कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने अर्को मार्ग विस्तारसंगै ग्रामीण भेगका स्थानीयलाई यातायातमा सहज हुनुका साथै आर्थिक कृयाकलापमा समेत बृद्धि हुनेछ । हुलाकी राजमार्ग आयोजनाले तीन वटै फेजमा काम भईरहेको जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासंग ठेकेदार भिम साउद ।