एजेन्सी – आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको संक्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ ।
विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्यांक अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको संक्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा संक्रमण पुष्टि भएको छ भने ३५ जनाको संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।
अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्यांकको तुलनामा निकै धेरै गुणा भाइरस संक्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन् ।
दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा संक्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ ।
इटलीमा कूल एक हजार १२८ जनामा संक्रमण भएको र अघिल्लो दिनभन्दा थप संक्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ ।
त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले संक्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ ।
जापानमा कूल २३९ व्यक्ति संक्रमित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ । जापानमा विगत २४ घण्टामा थप नौजनामा संक्रमणको पुष्टि भएको छ ।
जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा संक्रमण भएको अधिकारीहरूले बताएका छन् ।
उल्लेखित तथ्यांक सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो ।
प्रतिक्रिया