कोरोना भाइरसले उड्डयन क्षेत्रमा २९ अर्ब डलरको नोक्सानी

कोरोना भाइरसले उड्डयन क्षेत्रमा २९ अर्ब डलरको नोक्सानी


एजेन्सी – कोरोनाभाइरसको संकटका कारण विश्वव्यापी विमान सेवा कम्पनीलाई यो वर्ष २९ अर्ब डलरको घाटा हुने भएको छ । यस मध्ये चिनियाँ विमान कम्पनीलाई सबैभन्दा धेरै घाटा हुने देखिएको छ । अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए) का अनुसार कोरोनाभाइरसका कारण फैलिएको संक्रमणले यो वर्ष एसियाली विमान कम्पनीको मागमा १३ प्रतिशतको गिरावट आउन सक्छ ।

आईएटीएका अनुसार यो संकटका कारण विश्वव्यापी हवाई सवारी यो वर्ष ४.७ प्रतिशत सम्म कम हुन सक्छ । २००८–०९ मा आएको वित्तीय संकटपछि मागमा पहिलो गिरावट आउने छ । हाल कयौं देशले चीन जाने र त्याहाँबाट फर्कन प्रतिबन्ध लगाएका छन् । यसका अतिरिक्त ब्रिटिस एयरवेज, जर्मनीको लुफ्थान्सा, अस्ट्रेलियाको क्वान्टास तथा अमेरिकाका तीन ठूला विमान कम्पनीले मेसम्म चीनको उडान रद्ध गरेका छन् । एयर इन्डियाले पनि जुन सम्म चीनका लागि उडान रद्ध गरेको छ ।

विश्वव्यापी विमान उद्योगका लागि चुनौतीपूर्ण समय

आईएटीएका महानिर्देशक एवं सीईओ अलेक्जेन्डर डे जुनियकले भनेका छन्, “चीनमा फैलिएको कोरोनाको संकटबाट विश्व प्रभावित भइरहेको छ । यात्रीमा डरको अवस्था पैदा भएको छ । चीनका अतिरिक्त दक्षिण कोरिया तथा जापानको सरकार तथा स्वास्थ्य विशेषज्ञले मानिसलाई बाहिर ननिक्लनका लागि सल्लाह दिएका छन् ।”

उनले भने,“विश्वव्यापी विमान उद्योगका लागि यो अत्यन्त चुनौतीपूर्ण समय हो । यो संकटको अन्त्य गर्नु पहिलो प्राथमिकता हो । यसबाट मुक्ति मिलेपछि विश्वव्यापी विमान उद्योगले पुनः एक पटक रफ्तार लिनेछ ।