कोरोना अपडेट : ९४ % संक्रमित निको भएर घर फर्किए

कोरोना अपडेट : ९४ % संक्रमित निको भएर घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । मंगलबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भएको विवरण विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।  चीनको वुहान प्रान्तबाट सुरू भएको भनिएको कोरोना भाइरस (कोभिड–१९) संसारभर ११५ देशमा फैलिएको छ । विश्वभर नै कोरोनाको त्रास फैलिएको छ भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

पछिल्लो विवरण अनुसार हालसम्म १ लाख १४ हजार ४२२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ४ हजार २७ जनाको मृत्यु भएको छ भने ६४ हजार ८१ जना उपचारका क्रममा निको भएका छन् । मृत्यु हुने प्रतिशत ६% र निको हुने प्रतिशत ९४% रहेको छ । हाल ४६ हजार ३१४ जना कोरोना भाइरससँग संघर्ष गरिरहेका छन् । जसमध्ये ५ हजार ७७१ जनाको अवस्था गम्भीर छ भने ४० हजार ५४३ जनाको अवस्था मध्यम छ । विश्वभर १२% संक्रमितको अवस्था गम्भीर छ भने ८८% संक्रमितको अवस्था मध्यम छ ।

चीनबाट सुरू भएको भाइरसका कारण सबैभन्दा बढी संक्रमितको संख्या समेत चीनमै रहेको छ । चीनमा हालसम्म ८० हजार ७५४ संक्रमित फेला परेकोमा ५९ हजार ९०५ संक्रमित निको भइसकेका छन्, ३ हजार १३६ जनाको मृत्यु भएको छ । हाल चीनमा १७ हजार ७१३ संक्रमित रहेकामा ४ हजार ७९४ जनाको अवस्था गम्भीर रहेको छ । ताजा अवस्था अनुसार इटालीमा ७ हजार ९८५, दक्षिण कोरियामा ७ हजार २१२, इरानमा ४ हजार ५३०, फ्रान्समा १ हजार ३७०, स्पेनमा १ हजार १६९, जर्मनीमा १ हजार २०४, अमेरिकामा ६६६ संक्रमित रहेका छन् ।
मृतकको संख्या हेर्दा चीनपछि इटालीमा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा ४६३, इरानमा २३७, दक्षिण कोरियामा ५४, फ्रान्समा ३०, स्पेनमा ३०, अमेरिकामा २७, जापानमा ९ जनाको मृत्यु भएको छ । भयावह अवस्था सिर्जना भएपछि इटली सरकारले ६ करोड नागरिकलाई घरमै बस्न निर्देशन जारी गरेको छ । इटलीका नागरिक अब इच्छा अनुसार घरबाहिर निस्कन पाउने छैनन् ।

नेपालको दक्षिण छिमेकी भारतमा हालसम्म ४७ जनामा कोरोना संक्रमण फेला परेकोमा ४ जनालाई निको भइसकेको छ भने ४३ जना संक्रमणकै अवस्थामा छन् । तर गम्भीर अवस्था कसैको पनि छैन र मृत्यु पनि भएको छैन । नेपालमा १ जनामा संक्रमण देखिएकोमा ती व्यक्ति पनि निको भएर घर फर्किसकेका छन् । हाल नेपालमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । श्रीलंकमा १ जनामा संक्रमण फेला परेकोमा निको भइसकेको छ भने भुटानमा १ जनामा संक्रमण भेटिएकोमा उपचार भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन कोरोना नियन्त्रणका लागि संसारभर सक्रिय भएको छ । स्वास्थ्य वैज्ञानिकहरूले कोरोनाबारे अनुसन्धान गरिरहेका छन् । नयाँ भाइरस भएकाले वैज्ञानिक नै अलमलमा रहेका बेला सर्वसाधारणमा यसबारे थुप्रै भ्रम समेत फैलिएका छन् । स्वास्थ्य संगठनले भ्रम चिर्दै सावधानी र सचेतनाका उपायबारे सर्वसाधारणलाई अवगत गराइरहेको छ ।

हावाबाट नसर्ने र संक्रमण भएपनि मृत्युदर कम भएका कारण कोरोनाबाट धेरै त्रसित हुनुपर्ने अवस्था नरहेको चिकित्सकहरू बताउँछन् । संक्रमित व्यक्ति वा संक्रमित व्यक्तिले छोएको वस्तुबाट अर्काे व्यक्तिमा भाइरस सर्ने र त्यसका लागि माध्यम चाहिने चिकित्सकको राय छ । संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिको हातमा कारोना भाइरस आएपनि हातलाई नाक, मुख र आँखामा नलगाउँदासम्म त्यसको असर नगर्ने समेत चिकित्सक बताउँछन् । तसर्थ शंकास्पद व्यक्ति र सार्वजनिक स्थलका वस्तुलाई नछुने तथा छोइहालेपनि पटक–पटक हातधुने गर्दा कोरोना संक्रमणबाट बच्न सकिने उपाय चिकित्सकले सुझाएका छन् ।