चीनमा कोरोना भाइरसको उपचारमा संलग्न डाक्टरको मृत्यु

चीनमा कोरोना भाइरसको उपचारमा संलग्न डाक्टरको मृत्यु


बेइजिङ — चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । चिनियाँ टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीए)का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।

कोरोना भाइरसकै संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो घटना हुन सक्छ । उनी कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिएका थिए ।

उनको यो मृत्यूसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । यसैगरी १ हजार २ सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ । कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अस्ट्रेलिया र युरोपमा समेत विस्तार भइसकेको छ ।