चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७७० पुग्यो

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७७० पुग्यो


एजेन्सी – चीनमा कोरोना भाइरसबाट थप १०५ जनाको मृत्यु भएपछि सोमबार मर्नेको संख्या १७७० पुगेको छ । अधिकारीले कम महत्व भएका सार्वजनिक स्थानलाई बन्द गर्ने र नराम्ररी प्रभावित भएको हुबेइ प्रान्तमा महामारी नियन्त्रण गर्नका लाति यातायात प्रतिबन्धित गर्ने जस्ता कडा कदम उठाउने घोषणा गरेका छन् ।

सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले २,०४८ नया बिरामी भएको पुष्टि भएपछि संक्रमित मानिसको संख्या कुल ७०,५४८ पुगेको छ । यसबाट आइतबार १०५ मानिसको ज्यान गएको थियो । यसमध्य १०० हुवेइ र हेनानमा ३ तथा गुआङदोगमा २ को मृत्यु भएको छ ।

आयोगका अनुसार हालसम्म १०,८४४ मानिसलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । यसैगरी ७,२६४ मानिसमा यो संक्रमण भएको आशंका व्यक्त गरिएको छ । हङकङमा आइतबारसम्म ५७ मानिसमा यो संक्रमण भएको पुष्टि भएको छ भने १ जनाको ज्यान समेत गइसकेको छ । यसैगरी मकाउमा १० र ताइवानमा १ जनाको ज्यान गइसकेको छ ।

नयाँ घटनाहरुमा व्यापक कमी आएकाले यसको नियन्त्रणका लागि गरिएको उपाय लाभदायी भएको आयोगले जनाएको छ । एनएचसीका प्रवक्ता मी फेङले भनेका छन्, “भाइरसबाट सर्वाधिक प्रभावित वुहानमा संक्रमित तथा यसबाट गम्भीर रुपमा बिरामीको अनुपातमा उल्लेख्य रुपमा कमी आएको छ ।”

हुवेइ प्रान्तको अन्य भागमा गम्भीर रुपबाट संक्रमितको अनुपातमा कमी आएको पनि उनले बताए । २७ जनवरीम १८.४ प्रतिशत संक्रमित गम्भीर अवस्थामा रहको र १५ फेब्रुअरीमा ११.१ प्रतिशत यस किसिमका बिरामी देखिएका छन् । चीनको अन्य प्रान्तमा पनि अवस्थामा सुधार आएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयससले भनेका छन्, “अन्तर्राष्ट्रिय विशेषज्ञको १२ सदस्यीय टोली चीन पुगिसकेका छन् र चिनियाँ अधिकारीसँग संक्रमणलाई बुझ्ने काम गरिरहेका छन् । टेड्रोसले चीनका विदेश मन्त्री वाङ यीसँग पनि म्यूनिख सुरक्षा सम्मेलनमा भेटघाट गरेका छन् ।