एजेन्सी – चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस अब विश्वव्यापी भइसकेको छ । अमेरिकामा यो रोगका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
चीनमा कोभिड–१९ बाट हालसम्म करिब २९०० को मृत्यु भइसकेको छ । करिब ७९ हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । चीन बाहिर इरान तथा इटालीमा कोरोनाको संक्रमण तीव्र दरमा वृद्धि भएको छ ।
यी देशमा कोरोनाबाट मर्नेको संख्यामा लगातार वृद्धि भइरहेको छ । इरानमा यो रोगबाट संक्रमित हुनेको संख्या ९७८ पुगेको छ ।
विश्वभरी ९०,००० मानिस संक्रमित
विश्वभरी ६० भन्दा बढी देशमा कोरोनाको कहर जारी छ । विश्वभरीमा हालसम्म ३१०० मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ । ९०,००० मानिस यसबाट संक्रमित भएका छन् । पीटीआईका अनुसार अमेरिकामा कोरोनाका कारण हालसम्म ६ व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकामा १६ देखि २८ मार्चबीच उडान रद्द
अमेरिकामा भएको ६ मध्ये ५ को मृत्यु सियाटलको किङ काउन्टीमा भएको छ । यहाँको जनसंख्या ७ लाख रहेको छ । यस्तो अवस्थामा तीव्र दरमा कोरोना फैलने खतरा व्यापक रहेको छ ।
इटाली र दक्षिण कोरियामा कोरोनाको संक्रमण तीव्र दरमा फैलिरहेको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७०० पुगेको छ । दक्षिण कोरियामा ४००० मानिस संक्रमित भएका छन् ।
यसैबीच ब्रिटिस एयरवेजले १६ देखि २८ मार्चको बीच २१६ उडान रद्द गर्ने घोषणा गरेको छ । लन्डनबाट न्यूयोर्क, इटाली, फ्रान्स, अस्ट्रिया, बेल्जियम, जर्मनी तथा आयरल्यान्डका लागि उडान रद्द गरिएको विमान सेवा कम्पनीले जनाएको छ ।
प्रतिक्रिया