कोरोना भाइरसका कारण डब्ल्यूएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

कोरोना भाइरसका कारण डब्ल्यूएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा


काठमाडौं – चीनबाट दुई हप्ता अघि फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अहिले यसको संक्रमण विश्वका १८ देशमा फैलिसकेको छ ।

कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ । भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।