गृहमन्त्रीका नातेदारलाई न्यायाधीश बनाउन बिदामा बसेका प्रधानन्यायाधीश श्रेष्ठले बोलाए बैठक

गृहमन्त्रीका नातेदारलाई न्यायाधीश बनाउन बिदामा बसेका प्रधानन्यायाधीश श्रेष्ठले बोलाए बैठक


काठमाण्डु – असोज १९ गते अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ जाँदाजाँदै विवादित नियुक्ति गर्ने तरखरमा लागेका छन् ।

अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ जाँदाजाँदै वरियता र क्षमताको बेवास्ता गर्दै गृहमन्त्री रमेश लेखकका साँढुभाइ नाताका नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउनतिर लागेका छन् ।

घर बिदामा रहेका प्रधानन्यायाधीश श्रेष्ठले पाण्डेलाई सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्न बुधबार न्याय परिषद् बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा २ हप्ताभित्र नयाँ प्रधानन्यायाधीश आउने पक्का भइसक्दा प्रधानन्यायाधीश श्रेष्ठ व्यक्तिगत चाहनामा पाण्डेलाई सर्वोच्च अदालतमा नियुक्ति गर्ने प्रयासमा छन् । संक्रमणकालीन अवधिमा दीर्घकालीन प्रभाव पार्ने नियुक्तिमा प्रधानन्यायाधीश अग्रसर हुनुलाई धेरैले आश्चर्य र असामान्य मानेका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठ आगामी असोज १९ गते र न्यायाधीश प्रकाशकुमार ढुङ्गाना कात्तिक ३ गते अवकाशपछि सर्वोच्चको अदालतमा रिक्त न्यायाधीश संख्या ६ पुग्नेछ ।

सर्वोच्चको न्यायाधीशका लागि वरियतामा १ नम्बरमा उच्च अदालतबाट नृपध्वज निरौला, २ नम्बरमा लोहितचन्द्र साह, ३ नम्बरमा रमेशप्रसाद राजभण्डारी, ४ नम्बरमा श्रीकान्त पौडेल, ५ नम्बरमा माधव पोखरेल छन् । तर पनि प्रधानन्यायाधीश श्रेष्ठ डेढ वर्षे कार्यकालको अन्तिम न्याय परिषद् बैठकबाट राजनीतिक पृष्ठभूमिका पाण्डेलाई सर्वोच्च अदालतमा ल्याउन लागिपरेका छन् ।

प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउतको नाम संवैधानिक परिषद्ले सिफारिस गरिसकेको छ । उनको नाम संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुने क्रममा छ । न्याय परिषद्मा अहिले अध्यक्ष श्रेष्ठ र सदस्यहरूमा कानूनमन्त्री अजय चौरासिया, कायममुकायम प्रधानन्यायाधीश राउत, रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी छन् ।

बैठकमा सकेसम्म ४ जना न्यायाधीश सिफारिस गर्ने, यदि सबै रिक्त पदमा सिफारिस गर्ने नाममा सहमति हुन नसकेमा कम्तीमा २ जना न्यायाधीश सिफारिस गर्ने र त्यो पनि नभए नित्यानन्द पाण्डेलाई मात्र भए पनि सर्वोच्च अदालतमा ल्याउन प्रधानन्यायाधीश श्रेष्ठ सक्रिय रहेको न्याय परिषद् स्रोतको दाबी छ ।

पाण्डे गृहमन्त्री लेखकको साँढु नाताका भएकाले कांग्रेसको कोटामा अदालत छिरेका हुन् । उनी लेखककै जोडबलमा कनिष्ट हुँदाहुदै पनि सिनियरलाई पाखा लगाएर मुख्य न्यायाधीश बनेका थिए ।