रवि लामिछानेले आज फेरि थुनामा बस्नुपर्ने, थुनछेक बहस हेर्दाहेर्दैमा

रवि लामिछानेले आज फेरि थुनामा बस्नुपर्ने, थुनछेक बहस हेर्दाहेर्दैमा


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगीको मुद्दामा थुनछेक बहस स्थगित भएको छ ।

जिल्ला अदालत काठमाण्डुमा उनको बयान सकिएर बहस गर्न नभ्याउने भएकाले हेर्दाहेर्दैमा राखिएको अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले काठमाण्डुपाटीलाई जानकारी दिए ।

उनका अनुसार भोलि सोमबार बहसका लागि उपस्थित गराउन उनलाई आज थुनामा पठाउने आदेश भएको छ ।

कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि उनलाई हाजिरी जमानीमा छाडिएको थियो । त्यसपछि आईतबार बिहान उनी जिल्ला अदालत काठमाण्डुमा हाजिर भएका थिए ।

काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा रवि विरुद्धको मुद्दाको थुनछेक बहस जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हेर्दाहेर्दैमा छ । जिल्ला न्यायाधीश अधिकारीले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका छन् ।

रविसहित ३९ जनाले सहकारीको १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । पोखरामा उनी ८४ दिन प्रहरी हिरासतमा बसेका थिए ।