काठमाण्डु – सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाकिम सा’प) भवेशकुमार झा र लेखापाल सुरेश कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आईतबार दुवैलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद सजाय गरेको छ ।
मुद्दामा बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवाना समेत तिर्नुपर्ने फैसला भएको छ ।
आर्थिक वर्ष २०७४–७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएका ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनाअघि विशेष अदालतमा मुद्दा दायर गरेकोमा आईतबार ठहर हुने फैसला भएको छ ।
गाउँपालिकाले औषधि खरिदका नाममा २२ लाख ६१ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको थियो तर अख्तियारको अनुसन्धानका क्रममा १६ लाख ४१ हजार बराबरको औषधि मात्र वितरण भएको देखिएको अख्तियारको आरोप थियो ।
प्रतिक्रिया