काठमाण्डु – जिम्बावे ‘ए’विरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सानदार जित हात पारेको छ । शनिबार टियु क्रिकेट मैदानमा नेपालले जिम्बावे ‘ए’माथि ९ विकेटको जित हात पारेको हो ।
जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा पूरा गरेको हो । नेपालका लागि ओपनर सुनिल धमला ३८ रनमा आउट हुँदा तथा आशिफ शेख ३४ रनमा अविजित रहे । आजको खेलमा कुशल भुर्तेल समेटिए पनि ओपनरमा भने आएका थिएनन् । जिम्बावेका ब्राण्डन माभुताले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो । नेपालको धारिलो बलिङ सामू जिम्बावेका जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए भने ब्राड्ली इभान्सले २० रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्नसमेत सकेनन् ।
जिम्बावेलाई सस्तैमा रोक्न नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ विकेट तथा सागर ढकालको नाममा एक विकेट रह्यो ।
जितसँगै नेपालले तीन खेलको अभ्यास शृंखलामा बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ ।
यसअघि जिम्बावे ‘ए’ र नेपालबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।
प्रतिक्रिया