काठमाण्डु – ४ देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा बुधवार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो ।
जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । मंगलवार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् ।
खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डङ्गोलले २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १/१ विकेट लिए ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुवेतका लागि मरिन्मा हैदरले ४ विकेट र मरयाम ओमरले २ विकेट लिइन् । सिरिजमा नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रवार मलेसियासँग खेल्नेछ ।
प्रतिक्रिया