भोलिदेखि त्रिकोणात्मक क्रिकेट सिरिज हुँदै

भोलिदेखि त्रिकोणात्मक क्रिकेट सिरिज हुँदै


काठमाण्डु – नेपालसहित हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलि बुधबारदेखि काठमाण्डुमा हुँदैछ ।

काठमाण्डुको मूलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी–ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको छ ।

पहिलो खेलमा नेपालले यूएईसँग खेल्नेछ । प्रतियोगिताअघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टीममा असर पर्नु स्वाभाविक रहेको समेत बताए ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मूलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए । सन्दीपसँग निरन्तर छलफलमा रहेको र नेपाली परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उनले बताए ।

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टीमको घोषणा गरिसकेको छ ।