पोखरा – केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले विजयी सुरुआत गरेको छ ।
बिहीवार कास्कीको पोखरा रंगशालामा भएको खेलमा बाग्मतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टोलीलाई १०९ रनले हराएको छ ।
बाग्मतीले दिएको १८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी १४ ओभर २ बलमा ७५ रन बनाउँदा ‘अल आउट’ भयो । मदन भण्डारीका कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३ रन बनाए ।
बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४, सुवाश खत्रीले ३ र प्रतिस जिसीले २ विकेट लिएका छन् ।
आजदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टीम, विभागीय टीमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टीमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया