प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र सुदूरपश्चिमको विजयी सुरुआत

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र सुदूरपश्चिमको विजयी सुरुआत


काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् ।

आज सोमबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले मधेश प्रदेशलाई १२६ रनले हरायो । आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८ ओभर ४ बलमा १९४ रनमा अल आउट भयो ।

मधेशका पवन सर्राफले सर्वाधिक ६५ रन बनाए भने आर्मीका शाहब आलमले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन बनायो । आर्मीका कप्तान विनोद भण्डारीले शतक बनाए । भण्डारी ९३ बलमा ११३ रन बनाएर आउट भए । मधेशका रञ्जित कुमारले ५ विकेट लिए ।

जीतसँगै आर्मी २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मधेश २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

आज सोमबारै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हरायो । लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो ।

सुदूरपश्चिमका शेर मल्लले नट आउट ४२ रन बनाए भने लुम्बिनीका अभिशेक गौतमले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४८ ओभर ४ बलमा १५८ रनमा अल आउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सर्वाधिक ४२ रन बनाए । सुदूरपश्चिमका नारायण जोशीले ३ र भोजराज भट्टले २ विकेट लिए ।

जीतसँगै सुदूरपश्चिम २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी २ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यसपटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने जनाइएको छ ।