काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १३४ रनको अन्तरले पराजित गर्दै दोस्रो जीत निकालेको छ ।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको थियो । २ खेल खेलेको कर्णाली प्रदेशको मंगलबार पहिलो हार भएको छ ।
यसअघि पहिलो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो ।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । निकै ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको कर्णाली प्रदेशले ३७.२ ओभरमा अलआउट हुनुअघि १४३ रन मात्र बनाउन सक्यो ।
कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले ४ विकेट लिएका छन् । उनले १० ओभरमा ३५ रन खर्चिएका थिए । विकास अग्रीले पनि २ विकेट हात पारे । नारायण जोशी, भोजराज भट्ट र नरेश भट्टले १/१ विकेट लिए ।
कर्णाली प्रदेशका लागि दीवान पुनले सर्वाधिक ३८ रन बनाए । उनले ५२ बलमा ५ चौका पनि प्रहार गरे । विकेट किपर ब्याट्स म्यान अर्जुन घर्तीले २४ रन जोडे । हिमांशु शाहीले १७ रन बनाए । दिनेश अधिकारीले पनि २० रन बनाए । कर्णाली प्रदेशका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रूपमा पनि २३ रन पाएको छ ।
त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि दुवै ओपनर ब्याट्स म्यानले अर्धशतकीय पाली खेलेका थिए । खडक बोहरा र टेक रावतले ओपनिङ विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए । खडकले ८० रन बनाए । उनले ११४ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।
टेकले पनि टोलीको खातामा ५९ रन थपे । उनले ९१ बलमा ७ चौका पनि प्रहार गरेका थिए । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले पनि अर्धशतक बनाएका थिए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका किरणले केवल ३३ बलको सामना गरी २ छक्का र ५ चौकाको मद्दतले ५० रन बनाए ।
नारायण जोशी जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपे । छैटौं नम्बरका ब्याट्स म्यान नारायणले केवल १२ बलको सामना गरी ३ छक्का र १ चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्स म्यान राजु रिजालले पनि १९ रन बनाए ।
कप्तान समेत रहेका राजुले ३२ बलमा १ चौका पनि हिर्काएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १५ रन थपे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा पनि २३ रन पाएका थिए । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १/१ विकेट लिएका छन् ।
प्रतिक्रिया