बुटवल – प्रधानमन्त्री कप १ दिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्दै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार तेस्रो जीत निकाल्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जीत हात पारेको छ ।
भैरहवाको सिद्धार्थ क्रिकेट एकेडेमीमा जीतका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा ‘अलआउट’ भएको छ ।
गण्डकीका अश्वानी रानाले २५ र कमल परियारले २२ रन बनाएका छन् । अन्य कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका मल्ल एक्लैले ५ विकेट लिएका छन् । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका छन् ।
सुदूरपश्चिमका गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउँद र मिलन बोहराले समान १–१ विकेट लिएका छन् ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६० रन बनाए भने नारायण जोशीले ४६ रन जोडेका थिए ।
गण्डकीका कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३/३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २/२ विकेट लिएका थिए ।
प्रतिक्रिया