प्रधानमन्त्री कप क्रिकेटमा एपीएफलाई हराउँदै पुलिस क्लबको जीत

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफलाई हराउँदै पुलिस क्लबको जीत


काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको २ विभागीय क्लब बीचको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको छ ।

प्रतियोगितामा हालसम्म ४ खेल खेलेको पुलिस क्लबको यो चौथो जीत हो । एपीएफ क्लबले पनि चौथो खेल खेलेको हो ।

प्रतियोगितामा एपीएफ क्लबको यो दोस्रो हार हो । २ खेलमा भने एपीएफ क्लब विजयी भएको छ ।

सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४१ ओभरमै अलआउट हुनुअघि १४५ रन मात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले ३४ ओभरमै अलआउट हुनुअघि ८७ रन मात्र बनाउन सकेको थियो ।

एपीएफ क्लबका कुनै पनि ब्याट्स म्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ३ ब्याट्स म्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । सन्दीप जोराले अविजित २५ रन बनाए भने अमर रौतेलाले टोलीको खातामा २३ रन थपेका थिए ।

ओपनर ब्याट्स म्यान प्रज्ज्वल शाहीले १३ रन जोडे भने अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । एपीएफ क्लबका ४ ब्याट्स म्यानले खातासम्म खोल्न सकेका थिएनन् । एपीएफ क्लबले अतिरिक्त रूपमा १५ रन पाएको छ ।

पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले ५ विकेट लिए । उनले ८ ओभरमा ४ मेडन राख्दै केवल ८ रन खर्चिएका थिए । रासिद खानले पनि २ विकेट हात पारे । सागर ढकालले पनि १ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस क्लबका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन बनाएका थिए । उनले ६३ बलमा १ छक्का र ५ चौका हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्स म्यान अर्जुन साउदले पनि ३१ रन बनाए । विकेट किपर ब्याट्स म्यान अर्जुनले ५८ बलमा १ छक्का र १ चौका हिर्काएका थिए ।

पुलिस क्लबका लागि शंकरण राणाले पनि २२ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी भने १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । पुलिस क्लबका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिस क्लबले अतिरिक्त रुपमा १४ रन पाएको थियो । एपीएफ क्लबका बलर भुवन कार्कीले ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए । अमर रौतेला र रमेश कुर्मीले पनि २–२ विकेट हात पारे । मौसम ढकाल र रोहित पौडेलले पनि १–१ विकेट लिएका थिए ।