प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै एपीएफको जीत

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै एपीएफको जीत


काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई हराउँदै विभागीय क्लब एपीएफले जितेको छ ।

मंगलबार भएको समूह चरणको सातौं खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै एपीएफले जितेको हो ।

एपीएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन् ।

मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले १६.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको नटआउट पारी खेल्दा खडक बोहोराले २४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

एपीएफका चन्दन रामले ५ विकेट लिँदा भुवन कार्कीले ३ विकेट लिए । रोहित पौडेलले २ विकेट लिए ।

८८ रनको लक्ष्य पछ्याएको एपीएफले जीत निकाल्न कडा मेहनत गर्नुपरेको थियो । लगातार विकेट पतन भएका बेला सन्दीप जोराले एपीएफलाई जीत दिलाए । जोराले सर्वाधिक १८ रनको नटआउट पारी खेल्दा आशिफ शेखले १५ रन बनाएका थिए । यसैगरी भुवन कार्कीले १४ रन बनाउँदा प्रदीप ऐरी १२ रन बनाएर आउट भएका थिए ।

सुदूरका दीपक चन्दले सर्वाधिक ४ विकेट लिँदा नरेन साउदले ३ विकेट लिएका थिए ।