काठमाण्डु – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
कीर्तिपुरमा भएको खेलमा कर्णालीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१ रनले पराजित गरेको छ ।
कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा ‘अल आउट’ भएको छ । एपीएफका आसिफ शेखले शतक बनाए पनि जीत दिलाउन सकेनन् ।
आसिफले ११२ बलमा १०८ रन बनाएर आउट भए । एपीएफविरुद्ध कर्णालीका प्रकाश जैशीले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले ४४ ओभर १ बलमा २०६ रन बनाएको थियो । कर्णालीका हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतक बनाएका थिए । हिमांशु ६२ र अर्जुन ५३ रन बनाएर आउट भए ।
कर्णालीविरुद्ध एपीएफका मौसम ढकालले ३ विकेट लिए । जीतसँगै कर्णालीले ८ अंक जोडेको छ भने एपीएफको १० अंक छ ।
मूलपानीमा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई १०३ रनले हराएको छ । पुलिसले दिएको २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६ ओभर ३ बलमा १४२ रनमा ‘अल आउट’ भएको छ । लुम्बिनीका दिलसाद अलीले ३६ रन बनाएका छन् । पुलिसका कुशल भुर्तेलले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ३७ ओभर ३ बलमा २४५ रनमा अल आउट भएको थियो । पुलिसका कप्तान आरिफ शेखले ७६, करण केसीले ५७, कुशल भुर्तेलले ४८ रन बनाए ।
लुम्बिनीका नर सार्कीले ४, वीर मगरले ३ विकेट लिए । लगातार ८ खेल जितेको पुलिसले १६ अंक जोडेको छ भने लुम्बिनीको २ अंक छ ।
प्रतिक्रिया