आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य


काठमाण्डु- अलराउन्डर विवेक यादवको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भयो । आर्मीका विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन जोडे । अन्तिम ओभरको पाँचौं बलमा विवेक रन आउट भएका थिए । सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

एक समय ६९–७ को अवस्थामा पुगेको आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल कुशल भुर्तेलको ३९ औं ओभरको पाँचौं बलमा डीप स्क्वायर लेगमा शंकर रानाबाट क्याच आउट हुन पुगेका थिए ।