गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत


कास्की – पोखरामा गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’ एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पर्वतलाई ८ विकेटले पराजित गर्दै कास्कीले विजयी सुरुआत गरेको छ ।

खेलमा टस जितेर ब्याटिङ रोजेको पर्वतले २८ ओभरको पाचौं बलमा सबै विकेट गुमाएर ६८ रन मात्र बनायो । जितका लागि ६९ रनको लक्ष्य पछ्याएको कास्कीले १२ ओभरको पाँचौं बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो ।

पर्वतका लागि किरण पौडेलले सर्वाधिक २९ रन बनाउँदा ओपनर ‘ब्याट्स म्यान’ सन्देश खड्का र अभिराज पटेलले समान ११ रनको योगदान दिए ।

‘प्लेयर अफ दी म्याच’समेत घोषित कास्कीका नितेश गिरीले घातक बलिङ गर्दै ९ ओभरमा ६ मेडन राख्दै १० रन खर्चिएर ३ विकेट लिए । विमोचन सापकोटाले ७ बलिङमा २७ रन दिएर ३ विकेट लिएका छन् ।

कास्कीका शक्ति कुँवरले ३३ बलमा नटआउट रहँदै २३ रन बनाए । सिव्रिन श्रेष्ठले ६ तथा रोहित चन्दले ११ रन बनाएका छन् ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित आगामी असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

उनका अनुसार प्रतियोगिताबाट आगामी कात्तिक १ गतेदेखि कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले गरेका थिए ।