पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र, ४ जना विदेशी खेलाडी राख्न पाउने

पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र, ४ जना विदेशी खेलाडी राख्न पाउने


बैतडी – जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ ।

दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २८ गतेदेखि सुरु हुँदैछ ।

प्रतियोगिता मिति नजिकिएसँगै तयारी तीव्र पारिएको आयोजक शुशितम युवा क्लबका सचिव जगदीशसिंह कार्कीले जानकारी दिए । वडा नम्बर ६ पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित, खेलाडी टोली दर्ता लगायतको काम जारी छ ।

प्रतियोगिताका लागि खेल टोली दर्ता खुला गरिएको र सहभागी हुन चाहने टोलीले असोज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशोक कार्कीले जानकारी दिए । खेलाडी टोली दर्ता शुल्क १२ हजार ५०० राखिएको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए । उपविजेता टोलीले ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ ।

सेमिफाइनलबाट बाहिरिने टोलीले सान्त्वनास्वरूप १०/१० हजार, सर्वाेत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७, उदीयमान खेलाडीले ३ हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टोली पनि सहभागी हुन पाउनेछन् । सहभागी हुने टोलीले ४ जना विदेशी खेलाडी राख्न पाउने जनाइएको छ । खेल टेनस बलले खेलाइने र ‘एलबीडब्ल्यू आउट’ लागू नहुने आयोजकले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो ।