त्रिकोणात्मक टी–२० क्रिकेट: नेदरल्यान्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट: नेदरल्यान्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य


काठमाण्डु – त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको हो ।

सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लू आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शून्यमा एलबीडब्लू नै आउट गरे ।

नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए ।

कप्तान पिटर सिलार २२ र एन्टोनिउस स्टलले अविजित रहँदै २० रन बनाएपछि नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो । सन्दीप बाहेक नेपालबाट सोमपाल शाहब आलमले १,१ विकेट लिए । शाहबसँगैं कुशल भुर्तेल र आसिफ शेखले नेपालबाट ट्वान्टी २० मा डेब्यू गरिरहेका छन् ।