यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको लगातार तेस्रो जीत

यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको लगातार तेस्रो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जीत निकालेको छ ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र शुक्रबार भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै तेस्रो जीत निकालेको हो ।

सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयो । मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे ।

सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २/२ विकेट हात पारे ।

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे ।

मधेशका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे । जीतसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा यथावत् छ । मधेश भने चौथो स्थानमा छ ।

कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।