काठमाण्डु – एसीसी यू–१९ एसिया कपमा अफगानिस्तालाई १ विकेटले हराउँदै नेपालले जितेको छ ।
मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) सारजाहमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको छ ।
नेपालले जीतका लागि ९ रन आवश्यक हुँदा आठौं विकेट गुमाएकोमा अन्तिम विकेट बाँकी रहँदा नेपालका कप्तान हेमन्त धामी र युनिस ठकुरीले ९ रन बनाउँदै नेपाललाई जिताएका छन् ।
सुरुआतमा कमजोर देखिए पनि नेपालबाट आठौं नम्बरमा ब्याटिङका लागि आएका नरेन साउँदले सर्वाधिक २६ रन बनाए । सम्हालिएर ब्याटिङ गरेका उनले ५४ बलमा २ चौका प्रहार गरेका थिए ।
१०औं नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले अविजित २२ रन बनाए । उनले ३३ बलमा २ चौका प्रहार गरे । नवौं नम्बरमा ब्याटिङमा आएका अभिषेक तिवारीले १३ रन थपे । अर्जुन कुमालले ६२ बलमा २ चौकासहित २१ रन बनाएका थिए ।
अफगानिस्तानका एएम घाजन्फिर र खातिर स्तानिकजाईले समान ३/३ विकेट लिए । अब्दुल अजिज र महबुब खानले समान १/१ विकेट लिए ।
टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । अफगानिस्तानका फैसल सिनुजादाले ५२ रन बनाए । स्तानिकजाईले १५, घाजन्फिरले ११ र नासिर खानले १० रन थपेका थिए ।
नेपालका सन्तोष यादव र युनिस ठकुरीले समान ३/३ विकेट लिए । हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए । प्रतियोगितामा मंगलबार नेपालको पहिलो जीत हो ।
मंगलबार जिते पनि नेपालको एसिया कपको यात्रा समाप्त भएको छ । नेपालले ३ खेलबाट २ अंक जोड्दै समूह ‘बी’मा तेस्रो स्थान हासिल गरेको छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया