काठमाण्डु-लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा बिहीवारदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उदघाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने छ । बिहीबार दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । शुक्रबार बाँके-पाल्पा र नवलपरासी-रूपन्देहीबीच खेल हुनेछ ।
यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुने छ भने पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।
प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा छन् । क्यानको क्यालेन्डरअनुसार प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ ।
छनोट प्रतियोगितापछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया