काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा मूलपानी क्रिकेट मैदानमा सञ्चालित प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टीमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाण–पत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे ।
उनले सहभागी टीमका व्यवस्थापकहरूलाई मायाको चिनो समेत प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढी हुने चर्चा गर्दै प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत योगदान पुर्याएको बताए ।
खेलाडीहरूबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेल कौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्वःअनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको विजेता एवं उपविजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उनले व्यक्त गरे ।
आईजीपी कुँवरले नेपाल प्रहरीको खेलकुदका विभिन्न विधामा प्राप्त गरेको ख्याती र नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगितामा सहभागिता जनाई हासिल गरेका सफलता सराहनीय रहेको चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानको कारण नेपाल प्रहरी संगठन र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको विश्वास व्यक्त गरे । नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले आगामी दिनहरूमा समेत आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत संगठन र राष्ट्रका श्रीवृद्धिका अवसरहरू सिर्जना गरिरहने भन्ने विश्वास व्यक्त गर्दै खेलकुदको क्षेत्रमा अझ धेरै सफलता मिलोस् भन्ने शुभकामना समेत उनले व्यक्त गरे । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलका लागि संगठन सदैव सकारात्मक रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले निर्णायकहरू, प्रायोजकहरू तथा सहभागी टिमलाई प्रशंसापत्र एवम् मायाको चिनो प्रदान गरे । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले उत्कृष्ट बलरलाई, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले उत्कृष्ट ब्याट्सम्यानलाई र प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले फाइनल खेलका ‘म्यान अफ दि म्याच’लाई पुरस्कार प्रदान गरे ।
कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय टीमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण–पत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे ।
कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गरे । सो अवसरमा प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्मर पालले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शनिबार भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टीमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टीमलाई १४ रनले पराजित गरेको थियो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टीमले निर्धारित २० ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टीमले २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगितामा प्रथम हुने टीमले १ लाख रूपैयाँ र द्वितीय हुने टीमले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्स म्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्स म्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।
फागुन २७ गतेबाट सुरू भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टीमको सहभागिता थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया