नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो


काामण्डु – नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो ।

ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो । नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए । पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए । नोसाइना पोकनाले एक विकेट लिए ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे । यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो । दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ ।