काठमाण्डु – नेपाल क्रिकेट संघ –क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टीकरण मागेको छ । केही समय अगाडी कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाएका थिए ।
असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण मागेको हो । आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन क्यानले समय दिएको छ । ‘खेलाडी वर्गीकरणको विषयमा मिडियामा बोलेको कारण खोज्दै हामीसँग स्पष्टीकरण माग गरिएको छ,’ एक खेलाडीले भने, ‘हामी स्पष्टीकरण पेश गर्ने विषयमा छलफल गर्दैछौं।’
यसअघि गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडिओमार्फत् राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि प्रकट गरेका थिए । क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा कप्तान ज्ञानेन्द्रसहितका खेलाडीको असन्तुष्टि थियो ।
प्रतिक्रिया