त्रिदेशीय क्रिकेट श्रृंखला: ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

त्रिदेशीय क्रिकेट श्रृंखला: ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा


काठमाण्डु – नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय क्रिकेट श्रृंखलाका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

नेपालसँगै नेदरल्याण्ड र मलेसिया सम्मिलित बजाज पल्सर ट्राई नेसन टी २० सिरिजका लागि क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

घोषित टोलीमा कप्तान मल्लसहित, उपकप्तान दिपेन्द्र सिंह ऐरि, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनास वोहोरा, आरिफ सेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरि र सुसन भारी रहेका छन् ।
शृंखलाका लागि नेदरल्याण्ड र मलेसियाको टोली हिजो मगंलबार नै नेपाल आइसकेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाको पहिलो खेलमा नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ ।

दोस्रो खेलमा सोमबार मलेसियासँग, तेस्रो खेलमा नेदरल्याण्ड र चौथो खेलमा मलेसियासँग खेल्नेछ । शृंखलाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।