अपराध महाशाखाका प्रमुख लोहनीलाई आजै फिर्ता बोलाउने गृहको तयारी

अपराध महाशाखाका प्रमुख लोहनीलाई आजै फिर्ता बोलाउने गृहको तयारी


काठमाडौं– तस्करीको साढे ३३ केजी सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवस लोहनीलाई गृहमन्त्रालयले फिर्ता बोलाउने तयारी गरेको छ । लोहनीसहित घटनामा मुछिएका डीएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई समेत फिर्ता बोलाउने निष्कर्शमा मन्त्रालय पुगेको छ ।

घटनाको बारेमा गृह मन्त्रालय र प्रहरी मुख्यालयले दुई वटा अलग–अलग छानविन समिती बनाएको थियाे । प्रहरी मुख्यालयले डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा गठन गरेको छानविन समितीले अपराध महाशाखाको टोलीलाई बचाउन खोजेको समाचार सार्वजनिक भएपछि गृहले सह-सचिव ईश्वर पौडेल नेतृत्वको अर्को छानविन समीती गठन गरेको थियो ।

गृहमन्त्रालयले गठन गरेको छानविन समितीले एसएसपी लोहनीसहित अन्य अधिकृतलाई फिर्ता बोलाउन गृहमन्त्री रामबहादुर थापालाई सुझाव दिइसकेको छ ।  गृहमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार लोहनीसहित तीनै जनालाई आजै मुख्यालय तान्ने तयारी भएको छ ।

३३ किलो सुन काण्डका भरिया सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र मुख्य तस्करलाई पनि भगाइएका कारण प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्नुपर्ने आवाज उठेको थियो ।