देउवा र दाहालसँग भारतीय विदेश सचिव मिस्रीको भेट

देउवा र दाहालसँग भारतीय विदेश सचिव मिस्रीको भेट


काठमाण्डु – नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।

अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

त्यस अवसरमा पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज आइपुगेका हुन् । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।

सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी भोलि साउन २८ गते काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ ।