काठमाण्डु-सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले ढुङ्गानालाई राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
साथै बैठकले ढुङ्गानाको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । ढुंगानाको निधनमा गहिरो शोक र श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङले बताए ।
ढुङ्गानाको आइतबार ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष दलका नेताहरू सानो गौचरणमा हुने ढुङ्गानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन् । स्वर्गीय ढुङ्गानाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
ढुङ्गाना संविधान र कानूनका ज्ञाता थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना प्रजातन्त्र स्थापनापछिका पहिलो सभामुख हुन् ।
प्रतिक्रिया