मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ, पदको दुरुपयोग गर्दिनँ : उद्योगमन्त्री भण्डारी

मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ, पदको दुरुपयोग गर्दिनँ : उद्योगमन्त्री भण्डारी


बैतडी – संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले पाएको पदको सम्मान हुने गरी काम गर्ने बताएका छन् ।

बैतडीबाट निर्वाचित सांसद भण्डारीले आईतबार बैतडीको मेलौलीस्थित एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत, पसिना जोडिएकाले सबैको अभिभारा पूरा गर्ने गरी काम गरिरहेको बताए । उनले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरूलाई सहयोग गर्न आग्रह गरे ।

जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताए । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ कि छैन भनेर परीक्षण गरेर मात्रै कार्यान्वयन गरिने उनले बताए ।

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताए । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उनको जिकिर छ ।

‘विगतको सरकारमा म पनि सहभागी थिएँ, तर म आवद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरू कटौती गरिए,’ उनले भने, ‘चालू आर्थिक वर्षका योजनाहरू पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन् ।’

उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिने खालले बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनै पनि योजनाले परिणाम दिनैपर्ने हुन्छ,’ उनले भने । उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।