उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी तीन पटक संसदीय चुनाव जितेका दामोदर भण्डारीलाई

उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी तीन पटक संसदीय चुनाव जितेका दामोदर भण्डारीलाई


काठमाडौं—नेकपा एमालेले उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिमको एमालेका प्रभावशाली नेता दामोदर भण्डारीलाई दिने भएको छ । सोमबार राति सत्तारुढ दलहरुबीच वालुवाटारमा भएको मन्त्रालयको बाँडफाँडमा एमालेले उद्योग, वाणिज्य तथा आपूर्तिसहित ८ मन्त्रालय पाएको थियो ।

बैतडीबाट प्रतिनिधीसभा विजयी भएका सांसद भण्डारीलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवारी दिन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा पहिलो चरणमै मन्त्री भएका भण्डारीको जिम्मेवारी भने हिजोमात्रै एमालेले टुंग्गाएको हो ।

उनले वैतडीबाट २०७० सालमा संविधानसभामा चुनाव जितेर संसदीय यात्रा सुरु गरेका थिए । त्यसपछि उनी २०७३ सालमा केही समय अर्थराज्यमन्त्री समेत भए । वि.सं. २०७४ मा पनि उनी बैतडीबाटै प्रतिनिधीसभामा निर्वाचित भएका थिए । यसपटक गठबन्धनलाई पराजित गर्दै उनले जितमा ह्याट्रिक गरे ।

बैतडीको पाटन—६ मा वि.सं. २०३० बुवा उदयसिंह भण्डारी र आमा कमला भण्डारीका तीन सन्तानमध्ये कार्तिकमा जन्मिएका उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

वि.सं. २०४६ सालदेखि राजनीतिमा आवद्ध भएका भण्डारी पार्टीभित्रको संगठनमा बलियो पकड भएका नेताका रुपमा चिनिन्छन् । उनी वि.सं. २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष भएका थिए भने त्यसको दुई वर्ष एमाले पार्टीको जिल्ला कमिटीमा आएका थिए ।

वि.सं. २०५४ सालमा बैतडी जिल्ला जिल्ला कमिटी उपसचिव बनेका उनी २०५६ देखि ०६४ सम्म पार्टी जिल्ला सचिव हुँदैं जिल्ला अध्यक्ष बने । वि.सं. २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भए ।

एमाले सुदूरपश्चिमको राजनीतिमा महत्वपूर्ण भूमिका निभाउँदैं आएका भण्डारी नेकपा एमालेको सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत हुन् । उनी राजनीतिक यात्राका क्रममा पटक—पटक प्रहरी हिरासत समेत परेका छन् ।