मन्त्री भण्डारीकाे चेतावनी–हाजिर गरेर तलब पाक्यो भन्ने कर्मचारीलाई हटाइन्छ

मन्त्री भण्डारीकाे चेतावनी–हाजिर गरेर तलब पाक्यो भन्ने कर्मचारीलाई हटाइन्छ


काठमाण्डु– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

कम्पनीको आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताउदै सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँए । उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए ।

‘एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ। आज दिनभरीको कामको परिणाम के आयो? त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ,’

“खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ”, मन्त्री भण्डारीले प्रश्न गरे, “कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन  किन कार्य क्षेत्र विस्तार गर्न सकिएन ?” उनले परम्परागत रुपबाट कम्पनी चल्न नसक्ने जनाउँदै व्यावसायिक कार्ययोजना बनाउन सचेत गराए ।

देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पूँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औँल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए । “अब जग्गा बिक्री गरेर तलब सुविधा खाने प्रवृत्ति त्याग्नुपर्छ”, उनले भने, “देशका प्रमुख सरहमा ठूला बिक्री कक्ष राखेर व्यापार अभिवृद्धि गर्नुपर्छ ।”

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीले व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै संस्था समृद्ध हुने भएकाले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।