दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)


दाङ – दाङमा विद्यार्थी बोकेको बस (आज) शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ। उक्त घटनामा १० जना घाइते रहेका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते दुईजनालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको छ ।

दुर्घटनामा घाइतेको विवरण स् जुम्ला तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, सोही गाउँपालिका २ का १७ वर्षीय जीवन भण्डारी, सोही गाउँपालिका ४ की १६ वर्षीया पर्शा रोकाया, दाङ घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया रहेका छन्।

त्यस्तै अछाम मंगलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुम त्रिवेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेमबहादुर खड्का, रुकुम सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन घाइते भएका छन्। त्यसगरी, दाङ घोराही उपमहानगरपालिका १९ स्युजाकी १७ वर्षीया मेनुका रिजाल र अछाम मंलगसैन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना गम्भीर घाइते रहेको छन्। उनीहरूलाई थप उपचारका लागि राप्ती अञ्चल अस्प्ताल तुलसीपुरबाट नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ।

उद्धार जारी दुर्घटनामा परेको बसमा यसै शैक्षिक सत्रदेखि दाङमा सञ्चालन भएको शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक रहेका थिए। सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गरेको बा ४ ख ९७६६ नंम्बरको बस सडकबाट झन्डै आठ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी प्रेम बहादुर शाहीको नेतृत्वमा प्रहरी टोली, स्थानिय र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।